पराजुली समाज नेपालको बनभोज तथा बन्धु मिलन कार्यक्रम सम्पन्न

भक्तपुर, फाल्गुण १० – पराजुली समाज नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको बनभोज तथा बन्धु मिलन कार्यक्रम भक्तपुरको घ्याम्पेडाँडामा भव्य रूपमा सम्पन्न गरेको छ।

समाजका अध्यक्ष विश्वम्भरकृष्ण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजको केन्द्रीय भवन निर्माणका लागि अध्यक्ष पराजुलीले भक्तपुरको दधिकोटस्थित आफ्नो चार आना जग्गा समाजलाई अनुदान दिने घोषणा गर्नुभयो। साथै, बरिष्ठ उपाध्यक्ष इश्वरी प्रसाद पराजुलीले रु १,००,०००, दिनेश पराजुलीले रु १,००,०००, दिवस पराजुलीले रु ५०,००० प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ। कार्यक्रममा सहभागी अन्य सदस्यहरूले पनि रु १,००० देखि ५ लाखसम्मको आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

बनभोज कार्यक्रममा मनोरञ्जनात्मक खेलकुद तथा सांस्कृतिक गतिविधिहरूको आयोजना गरियो। म्युजिकल चेयर, तातो आलु, हाँडी फुटाउने प्रतियोगिता, लक्की ड्र लगायतका कार्यक्रमहरू सम्पन्न भए। साथै, नृत्य, मुक्तक, कविता, सायरी लगायतका प्रस्तुति प्रस्तुत गरियो।

समारोहलाई अध्यक्ष विश्वम्भरकृष्ण पराजुली, पूर्व प्रधान न्यायधीश तथा सल्लाहकार गोपाल पराजुली, सल्लाहकार शोभाकर पराजुली, बरिष्ठ उपाध्यक्ष इश्वरी प्रसाद पराजुली, महिला उपाध्यक्ष भद्रा पराजुली भण्डारी, केन्द्रीय सदस्य क्रान्ति पराजुली, उपाध्यक्ष दिवस पराजुली, महासचिव विष्णु प्रसाद पराजुली, सचिव द्रोण पराजुली, संस्थापक सचिव अर्जुन पराजुली, सल्लाहकार शिक्षित पराजुली लगायतका वक्ताहरूले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा समाजका युवा समिति सदस्य राजु पराजुलीको निर्माणमा बनेको चलचित्र ‘मायावी’ लाई शुभकामना प्रदान गरियो। साथै, समाजकी कान्छी सदस्य ८ वर्षीया लेखिका सफलता पराजुलीद्वारा लिखित ‘सक्सेस स्टोरी – भाग १’ को विमोचन र समीक्षा गरिएको थियो।

समाजले आगामी चैत्र ३० गते देवाली ज्याम्दीमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी समेत दिएको छ। हाल नेपाल तथा विदेशमा करिब आठ लाख पराजुली समुदाय रहेको विश्वास गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *